नियम ८१
बिरामी बिदा
: (१) आफ्नो पदको कर्तव्यपालन गर्दा चोटपटक लाग्न गई वा बिरामी हुन गई अस्पतालमा भर्ना भई उपचार गराउँदा लाग्ने दिन बाहेक प्रत्येक प्रहरी कर्मचारीले प्रत्येक वर्ष बाह्र दिन तलब, भत्ता र रासनसहित बिरामी बिदा पाउनेछ ।
(२) प्रहरी कर्मचारीले बिरामी बिदा सञ्चित गर्न सक्नेछ र जुनसुकै व्यहोराबाट निज सेवाबाट अलग भएमा निजको सञ्चित बिरामी बिदा बापत आफ्नो पदाधिकार रहेको पदबाट खाइपाई आएको मासिक तलबका दरले हुन आउने रकम एकमुष्ट लिन पाउनेछ । सञ्चित रहेको बिरामी बिदाको रकम लिन नपाउँदै कुनै प्रहरी कर्मचारीको मृत्यु भएमा त्यस्तो सञ्चित बिरामी बिदाको रकम नियम १३३ को
उपनियम (५) बमोजिमको व्यक्तिले एकमुष्ट लिन पाउनेछ ।
(३) पाँच दिनभन्दा बढी अवधिको बिरामी बिदा माग गर्ने प्रहरी कर्मचारीले स्वीकृत चिकित्सकको प्रमाणपत्र पेश गर्नु पर्नेछ । तर यस्तो प्रमाणपत्र पेश गर्न साधारणतया सम्भव छैन भन्ने बिदा दिने अधिकारीलाई विश्वास भएमा निजले सो व्यहोरा खुलाई प्रमाणपत्र बिना नै विदा स्वीकृत गर्न सक्नेछ ।
(४) कुनै ठूलो वा कडा रोग लागी उपचार गर्न सञ्चित बिरामी विदाबाट नपुग हुने भएमा स्वीकृत चिकित्सकको प्रमाणपत्र पेश गरेमा त्यस्तो प्रहरी कर्मचारीले बढीमा पैँतालीस दिनसम्म थप बिरामी बिदा पेश्कीको रुपमा पाउन सक्नेछ ।
(५) उपनियम (४) बमोजिमको पेश्की विरामी विदा त्यस्तो बिदा लिने प्रहरी कर्मचारीको सञ्चित रहेको वा पछि सञ्चित हुने घर बिदाबाट कट्टा गरिनेछ । त्यसरी कट्टा गर्दा प्रत्येक एक दिनको घर विदाबाट दुई दिनको दरले पेश्की विरामी विदा कट्टा गरिनेछ ।
(६) निलम्बनमा रहेको प्रहरी कर्मचारीले सो अवधिभरको बिरामी बिदा पाउने छैन ।